सपना आचार्यका ३ कविता

पीर

सँधै कालो हुने
रातको के पीर
बिजुली चम्किंदा हुने
उज्यालोले पो पिरोल्छ
सँधै एक्लो बस्ने जीवनलाई
एकान्तको के पीर
तिमीले साथ दिएपछि पो
नयाँ यात्राले पिरोल्छ
सँधै साथ रहने
दुःखको के पीर
झिपिक्क आएर हराउने
सुखले पो पिरोल्छ
सँधै छाल आउने जीवनलाई
किनाराको के पीर
किनाराले छाडेको दिन पो
नयाँ बाटोले पिरोल्छ !

गाएब

हराउने खोज्न
कराउनेकै भीड भो
त्यो बेला पो झन गजब भयो
जब नहराएका पनि
हराएको खबर भो !

मन

sagarmani mobile size

जब मन भर्न खोज्छु
तन रित्तिए जस्तो लाग्छ
मन र तन जोडेर भर्न खोज्दा
रहर रित्तिए जस्तो लाग्छ
क्या गजब छ जिन्दगी
भर्यो रित्तिन्छ रित्तिन्छ भर्यो !

तिलोत्तमा ३ रुपन्देही

आमा

आमा
ओठमा सास अड्काएर
बुलाकी अल्झेको पोराबाट
चिसो तप्केनी खसाल्छिन्
चिउँडोसम्म ।

आमा
जीवनका घाउचोटमा
निधारका धर्का भएर देखिन्छिन्
बादलका अक्षरझैँ
गर्भमा पानी बोकेर ।

आमा
कायामा फगत एउटा दुःख बाँचेकी छन्
बुख्याँचाको बिम्बझैँ
मजेत्रोका प्वालबाट छिरेका
सिरेटोको घोचाइ भएर ।

आमा !
सन्तानका मांशपिण्डमा बाँडिएकी छन्
टुक्राटुक्राका
चाहनामा
आफू मासिएर !

sagarmani mobile size

आमा
आफ्नो अस्थिपञ्जरमा
छोराछोरीको यौवन बाँचेकी छन्
तिरस्कार खाँदै, पिउँदै
सधैँ अघाएको भान पारेर ।

सपना आचार्य
बुटवल

आदत

सही हो डियर कम्रेड ?
कि हैन पागल ?
तिम्रा केही आदत !
सरेजस्तो लाग्छ ।
बानी परेको पो हो कि ?
बानी सरेको हो !
एक्लै रमाउने !
मनमै गाउने, मनमै बजाउने !
यो त पक्कै सरेकै हो !
भन फिर्ता पठाऊँ कि
यतै राखूँ ?
तिम्रा यी आदत !
भन प्रिय !

सपना आचार्य
तिलोत्तमा ३, रुपन्देही

याद

तिम्रो यादमा जलेका सबै रात
मेरा दिन छोट्याउने सपना भए
सम्झनामा भिजेका यी आँखा
तिमी बाहेक अरुलाई नछुट्याउने भए

तिमीले दिएका सारा चोट
जीवन भरीलाई उपहार भए
तिम्रै रहरको फन्को भित्र बाँचु भन्थे
तिम्रो सम्झनामै हराउने भए

तिमिले कोरलेका सुसेली मा
लयको स्वाद भरुँ भन्थे
तर आफ्नै रागको रन्को भित्र थुनिँदा
म त फेरि चुली कै धुवाँ भए !

तिमी

कसरी भनूँ म मलाई त
तिम्रो स्पर्शमै हराउँन मन छ
मिलुन न मिलुन बाटा कतै
एउटा नयाँ बाटो बनाउँन मन छ

कसरी भनूँ मलाई त
तिम्रो काखमा सुस्ताइरहन मन छ
आकाश बाहेक कोही नहुन् कतै
मनको एउटा गीत सुनाउँन मन् छ

कसरी भनूँ मलाई त
तिम्रै प्रेरणामा लेखी रहन मन छ
भाव को बेग न छुटोस् कतै
मायाकै नसामा डुब्न मन छ !

तिलोत्तमा, रुपन्देही

गुनासो

तिमीले नदेखे पनि
मकै बारीमा पसिना उडाउँदा
सड्किएको ढाड
तिमी छौ र पो दुख्छ
तिमी नहुदा त
कस्को स्पर्शका लागि दुख्नु

तिमीले नदेखे पनि
तिम्रै भरोसाको चङ्गा उडाउँदा
चुडिएको मन
तिम्रो यादले पो दुख्छ
तिमीले बाटो फेरे पछि
कस्को पर्खाइमा दुख्नु !

खुसी

तिम्रो मेरो तन्द्रा
उस्तै उस्तै तर भोगाइ अलग

तिम्रो मेरो हेराइको दुरी उही
तर अनुभूति अलग

sagarmani mobile size

बिहानको खुसी थाम्दा
बेलुकाको उम्कने भय
रातको खुसी खोज्दा
दिनको भाग्ने डर ।

गर्मी

भन्छु
आज गर्मी छ
उनी भन्छन्
समयको के दोष छ र
गर्मीले न बाटो खोल्छ
न दौडाउँछ
मौसमको बाहानामा
मानिस बेकार गफ लडाउँछ
म भन्छु
कहिले काहीँ
जिन्दगी नै गफ जस्तो लाग्छ
उनी भन्छन्
गफ खाने पिउने गर्छ र
बाहाना त चाहियो
मानिस बेकारमा गफ लडाउछ !

समीपमा आऊ

हावा त हो जीवन
आकाश घोचेर
अलिकति भरे त भो नि

नबुझे झै के बसिराको
माया लगाउने त हो
अलिकति बसाई सरे त भो नि

न अट्ने भा पो
खाली छँदै छ मन मुटु
अलिकति थपे त भो नि

खोज्नु परेन नयाँ
पुरानो छाडेर यसो
नजर फेरे त भो नि
रात भर जागेको किन
थोरै यता फर्केर
अँगालो हाले त भो नि ।

सपना आचार्य तिलोत्तमा, रुपन्देही